

नेपालगन्जका ब्यापारी आन्दोलित भएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदर र अवैध सामान ओसार पसार विरुद्ध नेपालगन्जका ब्यापारी आन्दोलित भएका हुन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघले विहीवार पत्रकार सम्मेलन गरि कोरोनाका कारण ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै चरणबद्ध आन्दोलन गर्न परेको जनाएको छ । ‘अवैध सामान ओसार पसार नियन्त्रण र बैैैंकको चर्को ब्याजदर विरुद्ध संघ आन्दोलित भएको छ,’ अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने ।
संघका प्रवक्ता टंक धामीका अनुसार चर्को ब्याजदर र २०–२५ प्रतिशत लगानी गर्ने नेपाल राष्ट्र बैंकको नीतिका विरुद्ध ७ असोजमा नेपालगन्जस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी एक घण्टा धर्ना दिने र ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।

त्यसैगरी, अवैध सामान नियन्त्रण र स्वदेशमै किनमेल गर्न प्रोत्साहन गर्न ८ असोजमा नेपालगन्ज भन्सार कार्यालय अगाडी दवावमुलक तथा सचेतनामुलक कार्यक्रम गर्ने तालिका रहेको प्रवक्ता धामीले जानकारी दिए । ‘माग सम्बोधन नभए विरोधका थप कार्यक्रम अगाडी बढाइने महासंघका महासचिव चिरञ्जीवी वलीले जानकारी दिए।